जुम्ला जिल्ला, चन्दननाथ नगरपालिका , वडा न ७, मिचा स्थित वर्ष ४४ कि कालिका खत्रिको परिवारमा ४ जना सदस्य रहेका छन छोरी, छोरा, श्रीमान र आफु । उहिले जुम्लामा छोरीलाइ पढाउने चलन थिएन घरबाट बुवा आमाले छोरालाइ मात्र पढाउने गर्थे । घरमा बुवा आमाले धेरै भेडा, घोडा, खच्चर पाल्नुभएको थियो, त्यसैलाइ चराउने काम गर्थ्यौ हामी छोरिहरुले । भर्खर भर्खर प्रौढ शिक्षा गाउँमा पढाउने चलन आएको थियो । २० वर्षको कलिलो उमेरमै विहे गरेर घरबाट पठाइदिए, कापी कलम सबै माइतमानै छोडि विहे गरेर पोइली घरमा आउनु पर्यो । श्रीमान ४९ वर्षको हुनुन्छ उहाँले ९ कक्षा सम्म पढनु भएको छ। श्रीमानले ट्रयाकटर चलाउने काम गर्नुहुन्छ ।
मैले तरकारी खेति गर्न लागेको करिब १३ वर्ष भयो । त्यो भन्दा पहिले थोरै थोरै मात्र गर्दथे । व्यावसायीक रुपमा तरकारी खेति गर्न सुरु गरेको भनेको १३ वर्ष जति भयो । सुरुमा धनिया, साग, टमाटर तरकारी खेति गर्न सुरु गरे। उहिले तरकारी खेति गर्दा तरकारीमा पानि हाल्नका लागी तिला नदि बाट गाग्री, ग्यालिनमा पानि बोकेर तरकारीमा पानि चाहार्नु पर्ने बाध्यता थियो । आजभोलिको जस्तो घरघरमा पानिको धारा भएको जस्तो सुविस्ता थिएन । उ बेलामा टमाटरको मुल्य प्रति केजी २० रुपैय थियो, साग १ रुपैया मुठा बेच्ने गरिन्थयो । खुबै खुसी लाग्थयो । उ बेलाको तरकारी खेतिको कमाइले घरमा नुन, तेलको मात्रै जोह गर्न सकिन्थ्यो । बिस्तारै मकै लगाएर मकै प्रति घोङा १० रुपैया गरेर बेच्ने गरे र त्यसपछि मुला, प्याज, गाजर, लसुन लगाउन थाले र विस्तारै तरकारी खेति बढाउदै लगे । मैले आफनो बारीमा तरकारी लगाउने तर वरिपरिको खेतमा अरुले धान रोप्ने गर्दथे । हाम्रो परिवारमा म पहिलो हो तरकारी खेति गर्ने भनेको ।
उहिले महत गाउँका अंग सरले पलाष्टिक घरमा तरकारी खेति गर्नुहुन्थ्यो । ८००० मा पलाष्टिक च्यातिएको थियो तै पनि अंग सरले २ वर्ष प्रयोग गरेको । हिउदामा के हुन्थ्यो र त्यहि साग धनिया त हो र अब पैसा आउला आउला जस्तो भयो पैसा आउने भएपछि मैले फेरि अर्को काठको पलाष्टिक टनेल घर बनाए त्यो बेलामा बुवाले सुर्खेतबाट पलाष्टिक ल्याइदिनु भयो र पछि फेरि मेरो श्रीमानले रुपौडियाबाट पलाष्टिक ल्याइदिनु भयो अनि मैले तिन वटा काठका पलाष्टिक घर बनाएर तरकारी खेति गर्न थाले ।महिला मान्छे के पो पैसा हुन्थ्यो र म संग । लोग्ने मान्छे संग ५० रुपैया माग्दा लाखौ रुपैया दिन परेको जस्तो गर्ने महिला लाइ पैसा किन आवश्यक पर्यो र किन चाहिन्छ जस्तो सोच राख्ने पहिले । तर अहिले ती पुरुषका हातमा हामी महिलाले ८/९ हजार हातमा राखि दिन्छौ छोरा छोरीलाइ पठाउनका लागि, पहिले ५० रुपैया माग्दा दिन लोभ मान्ने पुरुषहरु लाइ । आखिरमा हामिले त्यो बेलामा रुपैया पनि चिन्ने गर्थेनौ । तरकारी बेचे पछि कति रुपैया फिर्ता दिने र लिने भन्ने पनि थाह हुने थिएन । बिस्तारै तरकारी बेच्दै जादाँ सिक्दै गए ।अहिले मेरो छोरीले हिसाब जोडिन र पोहोर सालको तरकारी बाट कमाइ हिउँदा महिनामा त्यहि साग धनिया बाट रु १ लाख आम्दानि भएको रहेछ र वर्षा महिनामा रु साढे तिन लाख जतिको कमाइ तरकारी खेतिबाट भयो ।
परिवर्तनका आयमहरु कृषि क्षेत्र विकास कार्यक्रमको सह लगानीमा हाम्रो बहुउदेश्यीय सहकारी संस्थाले बेमौसमी तरकारी उत्पादन मुल्य श्रृंखलामा आवद्ध भई बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेको छ । वि.सं. २०७७ असार २५ गते बाट कृषि क्षेत्र विकास कार्यक्रम संगको सहलगानीमा जोडीएर कालिका खत्रि बेमौसमी तरकारी मुल्य श्रृंलखामा आवद्ध भई व्यावसायीक रुपमा तरकारी उत्पादन गर्दै आइरहेकी छन् । बेमौसमी तरकारी मुल्य श्रृंलखामा आवद्ध भईसके पछि कालिका र उनि लगाएत हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका सदस्यहरुले कृषि क्षेत्र विकास कार्यक्रमका अन्य कृयाकलापहरुमा समावेश भई प्राविधिक तालिम प्राप्त गरेका छन । जस्तै प्लाषटिक टनेल भित्र गरिने तरकारी खेति, रोग किरा नियन्त्रण तथा व्यवस्थापन, स्थानिय स्तरमा जैविक विषादि नियन्त्रण, कम्पोष्ट मलको तयारी, बेर्ना उत्पादन, मलखाद व्यवस्थापन सम्बन्धि ज्ञान समेत प्राप्त गरेका छन । उनि र सहकारीमा आवद्ध सदस्यहरुले बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन ।
उनि कार्यक्रममा आवद्ध भए पछि धेरै जिज्ञासा कार्यक्रमले मेटेको छ । तरकारी खेति लगाउने समय तालिका, नाफा नोक्सान, घाटाको हिसाब, बेमौसमी तरकारी खेति प्रणाली उनको समस्याको समाधानको विषय बन्यो । हाल उनले घर नजिकैको बारी र खेतमा गरि ४ रोपनीमा सबै किसिमका तरकारी खेति गरिरहेको छन् । कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा १ पलाष्टिक टनेल निर्माण गरेकी छन भने बाकि दुइ पलाष्टिक घर र बाकि ५ वटा काठका टनेल समेत आफ्नै लगानिमा बनाएर तरकारी खेति गदै आईरहेकी छन ।उनले ८ वटा टनेलमा अहिले रायो साग पालुङगो साग र सुई साग, धनियाँ, बन्दा, काउलि, मुला र गाजर बजारमा लगेर बेच्दै आइरहेकी छन् । प्रति दिन उनको बिक्रिबाट हुने कमाइ रु २५०० देखि ३००० हजार सम्म हुने र कहिले काहि दैनिक रु. ६००० जति आम्दानी गर्दै आइरहेकी छन् ।हिउदको सिजन भएको हुँदा खुला तरकारीको सिजन फाल्गुन महिनाबाट सुरु हुने र पलाषटिक घर भित्र साग र धनियाँ उत्पादन हुने गरेका छ।
कालिकाको दैनिकी नै विहानै उठनु, तरकारी बजारमा लगेर बेच्नु, तरकारी बेचेर आएको पैसा बचत गर्नु, दिउँसोको समयमा तरकारीको हेरचाह गर्नु र भोलीको लागी विक्रिका लागी तरकारि तयार गर्नु उनको दैनिकी रहन गएको छ । कृषि क्षेत्र विकास कार्यक्रमसंग आवद्ध भईसकेपछि कालिकालाइ पहिले देखि गर्दै आइरहेको तरकारी खेतीमा थप प्रोत्साहन संगै अझ थप धेरै तरकारी उत्पादन गर्नुपर्छ भन्ने जागर चलेको छ ।तरकारी खेती उनको लागि गतिलो आम्दानीको स्रोत बनेको छ । उनले कमाएको पैसा बाट घर खर्चमा मात्र सिमित नभई छोरा र छोरिलाइ काठमाण्डौमा उच्च शिक्षा समेत पढाउनमा समेत खर्च हुदै आएको छ । कृषि क्षेत्र विकास कार्यक्रमबाट संचालित वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षामा सहभागी भईसकेपछि बचत, आम्दानी, खर्च, नाफा, नोक्सान, बाली बिमाको बारेमा जानकारी पाएको उनी बताउछन् । बालि बिमाको बारेमा थाह पाएर तरकारीको बिमा गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान भएको र स्याउको बिमा गर्न सफल भएको जानकारी दिइन । पोषण पाठशालाबाट पोषणका बारेमा जानकारी भएको र साझ बिहानको खानामा " हरेक बार खाना चार" लाइ ध्यान दिइ खाना खादा के पुगेन भनि हेर्ने गरेको पनि भन्नु भयो । अहिले उनले बारीमा फलाइएका हरिया साग सब्जि र अन्य तरकारीमा खानाका लागी प्रयोग गरि उत्पादन संगसंगै खानामा पनि ध्यान दिएको जानकारी गराउनु भयो । व्यावसायिक रुपमा तरकारी खेति गर्न श्रीमान र माइती दुवै पक्षबाट सहयोग मिलेको छ, उनले भनिन । हाल उनीले आफ्नो व्यावसायमा थप २ जनालाई मासिक १० हजारका दरले रोजगारी दिएको र यसका साथै आफु र श्रीमान् पनि यसैमा संलग्न रहेको कुरा बताईन
लेखनः ईन्दिरा भण्डारी
लै.स.सा.स तथा पोषण अधिकृत
सम्पादनः
रत्नबहादुर बुढा
ज्ञान व्यावस्थापन तथा संचार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत