कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) नेपाल सरकारको सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय द्वारा संचालित कार्यक्रम हो । यस कार्यक्रममा कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (IFAD) को आर्थिक सहयोग रहेको छ । कर्णाली प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरीवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य १ गरीवी विहिन र लक्ष्य २ शुन्य भोकमरी प्राप्तिमा योगदान पुर्र्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
कर्णाली प्रदेशका ८ वटा जिल्लामा विगत ४ बर्ष देखि यो कार्यक्रम लागु भएको छ । हालै हुम्ला र डोल्पा जिल्ला गरि थप २ वटा जिल्लामा पनि यो कार्यक्रम संचालन हुन गईरहेको हुदा कर्णाली प्रदेशका १० वटै जिल्लामा काम भईरहेको छ । कृषि क्षेत्र विकास कार्यक्रमले नाफा मूलक र जलवायु अनुकुलित मूल्य श्रंखला र बाली बस्तुहरुलाई प्राथमिकता दिएको छ । बेमौसमी तरकारी खेती, दुग्ध व्यवसाय, तरकारीको बीउ, खसी बोका, अदुवा बेसार, टिमुर, आलुको बीउ तथा उच्च पोषणयुक्त स्थानिय बालीहरु जस्तै कर्णालीको सिमी, कोदो, फापर आदि मूल्य श्रृंखलामा रहेर काम गरिरहेको छ । कृषक समूह तथा मूल्य श्रृंखलामा आबद्द विभिन्न पात्रहरुसँग व्यवसायिक योजनामा सहलगानी मार्फत सो मूल्य श्रृंखलाको विकासमा टेवा पुर्याउने तथा ASDP द्वारा संचालित कार्यक्रमबाट सेवा पाईरहेका ३५ हजार घरधुरीको गरीवी घटाउने, २६ हजार घरधुरीको आम्दानी दोव्बर बनाउने अनि १५ देखी ४९ बर्ष उमेर समुहका महिला तथा किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउने प्रमुख उपलब्धी सूचकमा रहेका छन भने ४० हजार घरपरिवारले अप्रतक्ष रुपमा लाभ लिने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
प्रतक्ष रुपमा लाभान्वित ३५ हजार घरपरिवारको आयव्यायको तथ्याङ्कलाई सु-व्यवस्थित तथा अध्यावधिक गर्नको लागि कृषि क्षेत्र विकास कार्यक्रमले सुचना प्रणालीको रुपमा MIS प्रणाली लागु गरिरहेको छ ।कार्यक्रम अन्तर्गत प्रत्येक कृषकको आय-व्यायको तथ्याङ्कलाई संकलन तथा MIS प्रणालीमा प्रविष्ट गर्न कृषक डायरी प्रयोग गर्दै आईरहेको छ । कृषक डायरी कृषकहरुको व्यवसायको स्थिति झल्काउने संक्षिप्त पुस्तिका हो जसबाट कृषकहरुले आफ्नो व्यवसायको योजना र वास्तविक स्वरुपबारे नियमित रुपमा जानकारी प्राप्त गर्दछन । यस कृषक डायरीमा कृषकको घर परिवारको आधारभूत तथ्याङ्क, घर परिवारको सम्पत्तिको विवरण, वार्षिक आम्दानी विवरण, वार्षिक लगानी तथा खर्च विवरण, यदि परिवारमा विप्रेषण प्राप्त भैरहेको भए त्यसको उपयोगको विवरण, ऋण तथा सापटी सम्बन्धी विवरण, महिलाको खाद्य विविधता स्कोर संकलन देखी लिएर प्रत्येक मुल्य श्रृंखलामा व्यवसायिक योजना अनुसारको वार्षिक उत्पादन, बिक्री र आम्दानीको विवरण खेतीमा प्रयोग गरेका प्रविधिहरुको विवरण तथा त्यसको श्रोतहरु संकलन गरिन्छ । त्यसका साथसाथै उत्पादन योजना, उत्पादन खर्च र आम्दनीको विवरण, पहिलो तथा दोश्रो बर्षको सूचनाहरु कृषकहरुको सहयोगमा सहजकर्ताहरुले भर्ने गर्दछन। माथी उल्लेखित उपलब्ध सूचनाहरु ठीक छन भनेर स्थलगत प्रमाणीकरण गरे पश्चात समयैमा कृषि क्षेत्र विकास कार्यक्रममा सम्बन्धित फिल्डमा कार्यरत कृषि प्राविधिकहरुले अनलाईन सूचना प्रणालीमा प्रविष्ट गरे पश्चात कार्यक्रममा कार्यरत सबै कर्मचारीहरुका लागि उक्त सूचनाहरु उपलव्ध हुन्छन ।
कृषक डायरीमा रहेका हरेक शिर्षकहरु उत्तिकै महत्वपूर्ण रहेका छन । यसमा प्रथमत कृषकहरुले नै ईमान्दार रुपमा रहेर आफूले गरेका लगानी, खर्च तथा आम्दानी निष्पक्ष रुपमा भनेर भर्न सहयोग गर्नुपर्दछ । लगानी तथा खर्च बढी देखाउने वित्तिकै संस्थाबाट सहयोग हुन्छ भन्ने मान्यता मात्रै नराखी आफ्नो लगानी कति भयो र त्यो लगानीले आम्दानी कति बढायो भन्ने कुरालाई ध्यान दिनु पर्ने हुन्छ । यदि आम्दानीको तुलनामा खर्च बढी भयो भने पक्कै पनि हाम्रो खेती प्रणालीमा केही सुधार गर्नुपर्ने आबश्यकता छ र सो को लागि कृषि प्राविधिकहरु सँग आवश्यक सरसल्लाह गरि काम गरियो भने यसले कृषकको आम्दानी बढाउन सहयोग पुग्दछ । यसका लागि विउ बेर्ना छनोट देखि लिएर माटो व्यवस्थापन तथा मलखादमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।कृषकले बालीहरु लाईन वा ड्याङ्गमा लगाउने, आवश्यक सिँचाईको प्रयोग तथा रोग किरा व्यवस्थापनमा ध्यान दिई फसल नभित्र्याईन्जेल सम्मका प्रक्रियाहरु अबलम्बन गर्नुपर्ने हुन्छ ।
कृषक डायरीको खर्च विवरण भर्दा त्यसको उत्पादन साम्रगी विवरण तथा श्रम खर्च राम्रोसँग सोधेर मात्रै भर्नुपर्दछ । यसमा सहजकर्ता तथा कृषि प्राविधिकहरुले हरेक शिर्षकका सह शिर्षकहरुलाई राम्रोसँग बुझ्न सके मात्रै सही सूचना प्रविष्ट हुन्छ । कृषकहरु त सोधेको भन्दा बढाएर भन्दा राम्रो हुन्छ भन्ने सोचाई राख्ने गर्दछन् । सहजकर्ताले कति रोपनी जग्गामा कति परिमाणको वीउ तथा बेर्ना लाग्छ अनि कति जति बाली फसल उत्पादन हुन्छ भन्ने कुरा थाहा पाईराख्नु पर्दछ । यसका लागि उहाँहरुलाई अलि पहिलाका कुराहरु सम्झन दिनुपर्दछ र बिच बिचमा क्रस चेक पनि गरिराख्नु पर्दछ । मौसम अनुसारको तथ्याङ्क त उहाँहरुलाई थाहा हुन्छ । कहिलेकाही एकबर्ष भरिको तथ्याङ्क लिनुपर्दा धैर्य तथा नहतारिकन लिदा राम्रो हुने देखिन्छ । त्यसका लागि सूचना लिने कृषकलाई हजुरको लगभग यति समय मलाई दिनु पर्छ है भनेर त्यति नै समयमा सूचना लिईसक्नु पर्दछ । यदि लामो समय लाग्यो भने कृषकहरुको घरायसी काममा बाधा हुने भएकोले सकेसम्म काममा बाधा नपर्ने गरि समयको व्यवस्थापन गर्नुपर्दछ ।
अत: कृषि क्षेत्र विकास कार्यक्रमको लागि कृषक डायरी नै कार्यक्रमको मुल मन्त्र हो । जुन समय समयमा नियमित रुपमा अद्यावधिक हुदै जान्छ र सोही अनुसार तथ्याङ्क पनि प्रमाणित गरिदै जानु पर्दछ ।MIS प्रणालीमा रहेका सूचना तथा तथ्याङ्कहरुलाई आबश्यकता अनुसार विश्लेषण गरी सुचनाको रुपमा कृषि तथा पशुपंन्छी मन्त्रालय, साझेदार संस्था IFAD तथा अन्य सरोकारवाला निकायमा पठाउने गरिन्छ । यसरी कृषक डायरीले कार्यक्रमसंग सम्बन्धित सूचना व्यवस्थापन प्रणालीमा सहयोग पुर्याएको छ ।
संकलन कर्ता: धनी कुमारी वि सी र भावना सापकोटा, कृषि प्राविधिक, दैलेख
लेखनः किरण न्यौपाने, M&E Officer, कृषि क्षेत्र विकास कार्यक्रम जुम्ला
Review: रत्नबहादुर बुढा, Knowledge Management & Communication Officer सुर्खेत