प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

दुःखीको घर, बाख्राको भर
2023-02-20

नेपालको दुर्गम मानिने कर्णाली प्रदेश जहाँ विकासका प्रयासहरुको प्रशस्त खाँचो देखिन्छ । सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं.-७, टाट्केको एक विपन्न परिवारमा जन्मेकी मेनका भण्डारी सानै देखि दुःख र पिडाको सामना गर्दै हुर्केकी उनी बाल्यकालमा कापि कलमको ठाउँमा हसिया र घाँसको भारी बोक्दै बाख्रा चराउदै हिडिन । घरको आर्थिक अवस्था कमजोर रहेकोले स्कुल जान नपाएकी मेनकाको कलिलै उमेरमा सोहि नगरपालिकाको वडा नं.-३, थाराचौरमा बिवाह भयो । बिवाह गरेर गएको घर पनि उनको माईतीघर भन्दा खासै फरक थिएन, उनको श्रीमान तारादेव भण्डारी पेशाले एक किसान हुन । उनको परिवारमा उनी लगायत उनको श्रीमान, तिन छोरा र ससुरा गरि ६ जनाको परिवार छ । परिवार ठुलो तर खेतीपाती गरेर खासै आम्दानि गर्न नसकेकोले घर परिवारको खर्च टार्न पनि धौधौ पर्ने हुनाले उनीहरुले दुःख र परिश्रममै आफ्नो जीवन बिताईरहेका थिए । छोराहरुलाई पढाउन लेखाउन र बिहान बेलुका हातमुख जोडन् पनि गाह्रो हुने गर्दथ्यो उनको परिवारलाई, यो दुःखवाट कहिल्यै पार पाईदैन होला, यसरी नै जीवन बित्ने भयो भनेर सोच्ने गर्थिन मेनका, साना साना छोराहरु र बुढो ससुराको स्याहार सुसार गरेर मात्र कहाँ पुग्थ्यो र यसका साथै उनले खेतबारीको काम र खसि बाख्राको हेरचाह पनि गर्नुपर्ने हुनाले कामको बोझ थेग्न धौधौ हुदै गयो । परिवारको गुजाराकै लागि पनि विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको मेनको परिवारलाई के गर्ने के नगर्ने भन्ने अन्यौलता सिर्जना भयो । त्यसैले पनि परिवारले दुःख पाएको देखेर श्रीमान तारादेवले पैसा कमाउन विदेश जाने भनि तैयारी गर्न लागे, तर भन्छन नि “लेखेको कहाँ मेटिन्छ र ?” उनको विदेश जाने भिसा नै लागेन र पछि पनि उनले धेरै प्रयास गरे तर सफल भएनन् । फ्रि भिसा, फ्रि टिकेट त भन्नु मात्रै रै छ सजिलो कहाँ पाईन्छ र ? उनीसंग प्रयाप्त पैसाको अभावमा उनी बढि पैसा तिरेर भएपनि विदेश जान सकेनन् तसर्थ तारादेव आफ्नो भाग्य माथि दुःखी हुदै भाग्यलाई सराप्ने गर्दथे। मेनका पढे लेखेको पनि नभएकोले कहि कतै गएर केहि बोल्न बुझ्न पनि गाह्रो भयो उनलाई, उनी आफ्नो परिचय समेत राम्रोसंग दिन सक्दिनन् त्यसैले निराश भई कहिले दुःखवाट छुटकारा नपाउने होकि लाग्न थाल्यो उनलाई ।

केही बर्ष अगाडि समुह गठन गरि दर्ता भएको सयपत्री बाख्रापालन समुहको सदस्य हुन् मेनका । समुहमा भए पनि समुहवाट खासै केहि गतिविधिहरु गर्न नसकेको र समुहका सदस्यहरुको क्षमता अभिवृद्धि लगायत कुनै कुरामा कहि कतैवाट केहि सहयोग पनि नपाएकोले मेनकाको अवस्थामा सुधार आउन सकेको थिएन । उनले आफ्नो जिविकोपार्जनका लागि खेतीपाती र ४ वटा बाख्रा पाल्दै आएकी थिईन जसवाट बार्षिक रुपमा लगभग रु. पचाँस हजार सम्म आम्दानि हुने कुरा उनी बताउँछिन। सानै देखि बाख्रा चराउँदै आएको साथै आफुलाई सजिलो पनि लाग्ने भएकोले बाख्रापालनलाई आफ्नो मुख्य पेशा बनाउन चाहन्थिन र थप बाख्रा पालन गर्ने मन थियो तर सो बारे कुनै प्राविधिक ज्ञान नभएकोले कहि कतैवाट सिक्न पाए केहि सहयोग पाए बाख्रापालन मै रमाई आफ्नो र परिवारको अवस्थामा सुधार ल्याउने योजना उनको मनमा थियो, तसर्थ उनी मौकाको खोजीमा थिईन । करिब डेढ बर्ष अगाडि एक दिन समुहको अध्यक्षले बैठकका लागि बोलाएको र बैठकमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली प्रदेशका साना किसानहरूलाई लक्षित गरेर कृषि क्षेत्र विकास कार्यक्रम लागु गरेको कुरा थाहा पाईन । कार्यक्रमले खसी बोका लगायत विभिन्न मुल्य श्रृखंलामा सहलगानी गर्ने कुरा बैठकमा छलफल भयो साथै ब्यक्तिगत ज्ञान तथा क्षमता अभिवृद्धि, पोषण सुधारका लागि वित्तिय साक्षरता कक्षा, पोषण पाठशाला र पोषण बगैचा निमार्णका लागि बिउबिजन सहयोग लगायतका थुप्रै राम्रा कुराहरु कार्यक्रमले समावेश गरेको थाहा पाएपछि उनले मन मनै कार्यक्रममा समावेश हुने कुरा सोच्दै यसलाई अवसरको रुपमा लिने निधो गरिन र कार्यक्रममा आफु पनि समावेश हुने कुरा समुहमा राखिन । उनी कुरालाई अगाडी बढाउदै भन्छिन, समुहले पेश गरेको प्रस्ताव स्विकृत भएपछि कार्यक्रमको अभिमुखिकरणमा कृषि क्षेत्र विकास कार्यक्रमवाट दुई जना कर्मचारीहरु आउनु भयो र के कसरी क्रियाकलापहरु गर्ने भन्ने बारेमा बताउनु भयो, जसमा टाट्नो सहितको सुधारिएको खोर, औषधि खरिद, तौल्ने मेशिन र घाँस काटने मेसिन, घाँस ब्यवस्थापन, सेवा खरिद, नश्ल सुधार लगायतका विषयमा कार्यक्रमले सहलगानी गर्ने कुरा बताँउदै कार्यक्रममा लैंङ्गिक समानता र पोषणको बारेमा पनि धेरै कुरा रहेछन । उनि थप्छिन, पछि कार्यक्रमवाट बेला बेलामा सर म्याडमहरु आउदै सुधारिएको खोरको डिजाईन दिई बनाउने विधि वारे सिकाउनु भयो संगै प्राविधिक कुराको लागि कार्यक्रमको सहलगानी मै बाख्रापालन सम्बन्धि ३ वटा तालिम पनि लिएर सुधारिएको खोरको फाईदा, मिनरल ब्लक तयारी, आन्तरिक तथा बाह्य परिजिवि नियन्त्रण लगायत आहारा ब्यवस्थापनका थुप्रै कुरा सिकेको र यसबाट आफ्नो बाख्रापालन सम्बन्धि ज्ञान तथा क्षमतामा अभिवृद्धि भएको बताउछिन । साथै कार्यक्रमले समुहमा खसी बाख्राको बाहय परिजिविको लागि डिपिङ्ग टयाङ्की निमार्ण, उन्नत घाँस खेती जस्ता प्रविधिबाट आफ्नो बाख्रापालन ब्यवसायमा थप टेवा पुग्ने विश्वास राख्छिन मेनका ।

यसरी मेनकाले मेहनत गर्दै आफै पनि लागेर सुधारिएको खोर बनाईन जुन त्यो समुहको अरु सवै सदस्यहरुको भन्दा राम्रो खोर हुन पुग्यो । उनले खसि बाख्राको संख्यामा पनि थप बढोत्तरी गरेर तेह्र वटा खसि बाख्रा पुर्याईन। खसि बाख्राको आहारा ब्यवस्थापनका लागि उनले भुई घाँस र डाले घाँस पनि रोपिन र प्राविधिक सेवाको लागि कार्यक्रमले सेवा खरिदमा गरेको सहलगानीवाटै प्राविधिक सल्लाह सुझाव सहित सेवा पनि लिईन । हाल उनले खसी बोका बिक्री गरेरे बार्षिक रुपमा करिब रु. १ लाख २० हजार आम्दानी गर्ने गर्छिन, उनी भन्छिन खसि बोका पालन गर्दा बजारको खासै समस्या छैन, ब्यापारीहरु घरमै आएर रू. ५ सय प्रति किलोका दरले किनेर लाने गर्छन । आगामी बर्ष उनले सात देखि आठ वटा खसि बोका बेचेर रु. १ लाख ६० हजार सम्म आम्दानि गर्ने योजना रहेको सुनाउँछिन । सुधारिएको खोर नहुदा पहिले खसि बाख्राहरूलाई धेरै रोग लाग्ने, राम्रो तौलको नहुने र कति त रोगले मर्ने हुदा बर्ष भरि गरेको सबै दुःख खेर जाने भएको तर अहिले सुधारिएको खोर भए पछि आफ्नो खसि बाख्रा स्वस्थ वातावरणमा हुर्किरहेको र मलमुत्रको आफै उचित ब्यवस्थापन भएकोले सो मललाई खेतवारीमा प्रयोग गरि खेतीपातीवाट पनि थप उत्पादन लिन सकिने कुरा उनी थप्छिन् । हाल उनको अवस्थामा पहिलेको तुलनामा केहि सुधार आएको छ, उनी महिला भएर पनि समुदायको मानसिकतालाई चिर्दै, आफ्नो परिवारको जीवन निर्वाहमा महत्वपुर्ण भुमिका खेल्दै आएकी छिन । उनी अगाडी भन्छिन्, आफ्नो ज्ञान सिप तथा क्षमतामा अभिवृद्धि हुन सके बाख्रापालनलाई भविष्यमा थप विस्तार गर्ने योजना छ । महिलाले पनि चाहे आफ्नो अवस्थामा परिवर्तन ल्याउने कुरामा उनी विश्वस्त छन् । कार्यक्रमले समुहका सदस्यहरु मध्ये संकटासन्न तथा न्युन क्षमता भएका खास गरि महिला सदस्यहरुका लागि ल्याएको घरधुरी तहको विधि (HHs Methodology-GALS) उनको आवश्यकतासँग मेल खान गएको र सल्यानका दुई समुहबाट आठ जना महिला मध्ये मेनका पनि छनौट भएकी हुन् । यसबाट केहि सिक्न पाउने र आफ्नो ज्ञान सिप तथा क्षमतामा अभिवृद्धि हुने कुराले एकदम खुशि भएकी छिन ।

समग्रमा कार्यक्रमको बारेमा आफ्नो विचार यसरी राखछिन उनी, “शुरु शुरुमा यो कार्यक्रम झनझटिलो र गाह्रो देखिए पनि मेहनेत गर्ने किसानहरुका लागि असाध्यै राम्रो छ। यसले सहलगानी मात्रै गर्दैन समुह तथा समुहका सदस्यहरुको ज्ञान सिप तथा क्षमतामा अभिवृद्धि गर्नुका साथै पोषण सुधार र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा समुदायको सचेतनामा अभिवृद्धि गरि संवेदनशिलताका साथ लागु गर्छ ।“निकट भविष्यमै संचालन हुने वित्तिय शिक्षा तथा ब्यवसायिक साक्षरता कक्षा, पोषण कक्षामा र घरधुरी तहको विधिमा सक्रिय सहभागिता जनाई बचत तथा ऋण, पोषण र महिला कार्य सिकाई पद्दतीका विषयहरु सिक्ने र घरपरिवारमा लागु गरि आफुले सिकेका कुरा समुदायमा अरुलाई पनि सिकाउँने कुरा गर्छिन । अन्तमा बहु-विषय समेटिने कार्यक्रम ल्याएकोमा कृषि क्षेत्र विकास कार्ययक्रमलाई समेत धन्यवाद दिदै मेनका भन्छिन हामी दुःखीको घर यही बाख्राको भर, त्यसैले जे गर्नु छ यसै ब्यवसायलाई राम्रोसंग अगाडी बढाउनु छ ।

संकलन तथा लेखनः
सन्तोष दुवे
लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, ईकाई कार्यालय सल्यान